४. समितिको काम, कर्तव्य र अधिकारः
समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) सलहेश क्षेत्रको पर्यटन विकासको लागि प्राकृतिक, सामाजिक, साँस्कृतिक र वातावरणीय पक्ष तथा जैविक विविधताको संरक्षण र सम्वद्र्धन गर्न आवश्यक नीति निर्धारण गर्ने,
(ख) सलहेश क्षेत्रमा सम्भाव्य पर्यटकीय स्थलको पहिचान गर्ने तथा पर्यटन विकासको लागि विभिन्न योजना तथा कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने वा गराउने,
(ग) सलहेश क्षेत्रको साँस्कृतिक तथा प्राकृतिक सम्पदाहरुको विवरण संकलन गर्ने,
(घ) सलहेश क्षेत्रको पर्यटन विकास सम्बन्धमा आवश्यक अध्ययन तथा अनुसन्धान गर्ने,
(ङ) सलहेश क्षेत्रमा पर्यटन व्यवसायको दिगो विकास र विस्तार गरी स्वदेश तथा विदेशमा सलहेश क्षेत्रलाई एक आकर्षण र भरपर्दो पर्यटकीय स्थलको रुपमा पहिचान गराउने,
(च) सलहेश क्षेत्रमा स्वास्थ्य, वन्यजन्तु, कृषि, खेलकुद, ंमनोरञ्जनात्मक तथा साँस्कृतिक पर्यटन जस्ता पर्यटकीय गतिविधिहरुको विविधिकरण र विकास गर्ने,
(छ) सलहेश क्षेत्रको कला र संस्कृतिको वारेमा पर्यटकको अभिरुची वृद्धि गर्न विविध कार्यक्रम सञ्चालन गर्ने वा गराउने,
(ज) पर्यटन सम्बन्धी रोजगारमूलक तालिम तथा सिप विकास कार्यक्रममा युवा, महिला, आदिवासी, जनजाति, दलित र पिछडिएको वर्गलाई प्राथमिकता दिई सहभागी गराउने,
(झ) समुदायमा आधारित पर्यटन विकासको माध्यमबाट ग्रामीण गरीवी न्यूनिकरण गर्ने,
(ञ) आधुनिक सूचना प्रविधि र उपकरणको उपयोग गरी पर्यटकीय सेवालाई सर्वसुलभ तथा गुणस्तरीय बनाउने,
(ट) सलहेश क्षेत्रको कला, संस्कृति र रहन सहनको परिचय दिलाउने किसिमका आवास गृह, चमेना गृह आदि निर्माण गरी सञ्चालन गर्ने वा गराउने
(ठ) पर्यटन सम्बन्धी कृयाकलाप सञ्चालन गर्दा सलहेश क्षेत्रको साँस्कृतिक, वातावरणीय सौन्दर्यता तथा जैविक विविधतामा पर्ने असरलाई न्यूनिकरण गर्न आवश्यक उपायको अवलम्वन गर्ने,
(ड) सलहेश क्षेत्रभित्रका ताल, पोखरी, नदी, खोला आदिमा प्रदुषण हुन नदिन आवश्यक योजना तयार गरी कार्यान्वयन गर्ने वा गराउने,
(ढ) सलहेश क्षेत्रमा मुलकका अन्य क्षेत्रका नागरिकहरुको भ्रमणलाई प्रोत्साहन गरी आन्तरिक पर्यटन विकास गर्ने,
(ण) सलहेश क्षेत्रमा सम्भाव्य पदयात्रा क्षेत्र पहिचान गरी स्वदेशी तथा विदेशी पर्यटकलाई पदयात्राको पूर्वाधार तयार गर्ने,
(त) सलहेश क्षेत्रको पर्यटन विकासको लागि सरकारी तथा गैर सरकारी संस्थाहरू वीच आवश्यक समन्वय गर्ने वा गराउने,
(थ) समितिको उद्देश्य पूर्तिको लागि अन्य काम गर्ने वा गराउने ।